मेरो कथा रेडियो गोधुलीबाट
"हालै हल्ला भित्रको हल्ला"

समिक्षा आफ्नै

गजलकारको बारेमाः यस पटक दिपक थापा

समिक्षकः पूर्ण बन्धन


यो फेसबुक कमालको छ । एकजना उदियमान गजलकारसंग फेसबुकमा भेट भयो । म अमेरिकाको भ्रमणमा आउँदैछु भन्ने खबर ग्लोबल नेपाल न्यूजमा पढेर ती भाइ निकै हौसिए र मसंग फेसबुक च्याटमा सामान्य भलाकुसारी गरे । अमेरिकामा भेट्नु पर्छ भन्ने वाचाका साथ हामीहरु बेलाबेला एकअर्काका गजलहरु पढ्ने र टिप्पणी गर्ने गरी बराबर सम्पर्कमा रह्यौं । म अमेरिका पुगेपछि विस्तारमा कुराकानी हुँदा ती गजलकार भाइ त, नेपालमा लामो समय बसोवास गरेर हाल अमेरिकी पुर्नवासका लागि गएका भूटानी सरणार्थी युवक रहेछन् भन्ने थाह पाए पछि, उनको गजलको प्रभाव राम्रो लाग्ने मेरो मनस्थिती एकदम गुणात्मक रुपले बदलियो । कुराकानीका दौरान म एकछिन गहिरो सोचमा परें र भाइले मलाई सोधे "के भयो दाई चूप लाग्नु भयो नि ?" हामी स्काइपमा भिडियो च्याट गरिरहेका थियौं, अनि म एकछिन् अवाक भएँ र कतै उनले दुःख मान्लान् कि भन्ने डरले डराइडराई भने, "हैन भाइ म यो सोच्दैछु कि तपाई भूटानी नागरिक भएर पनि नेपाली माटोको मायामा रमाएर, नेपाली साहित्यको यत्रो सर्जक हुनु भएकोमा के भनौं के भनौं भयो", भनें । उनले भने "दाइ, जन्मभूमी पो मेरो भूटान हो त । कुनै कारणवस कर्मभूमी नेपाल भयो । मातृभाषा नेपाली नै हो, त्यसैले नेपाली साहित्य त हाम्रो रगतमा हुने नै भयो । त्यसैले भूटानी हुनका अतिरिक्त नेपाललाई कर्मभूमी ठान्ने म पनि नेपाली नै हुँ । त्यसैले ......."
गजलकार दिपक थापा, हाल अमेरिकाको भर्जिनियामा बसोवास गर्छन् । गत ३ वर्षको अन्तरालमा उनी त्यहाँ आरामको जीवनयापनमा अभ्यस्त छन् । कुनै विशिष्टकोटीको होटेलमा काम गर्छन् र उनकी श्रीमती र आमा पनि साथमै हुनुहुन्छ । यद्यपी, उनमा नेपालीपन, नेपाली माया, नेपाली परिवेश र नेपालको सँस्कृतीको सुवाश आउने उनका गजलहरु कतीसम्म सार्थक र सवल छन् भने एउटा स्वार्थी मान्छेले अडकल काट्न सक्दैन । साँचो अर्थमा नेपाली साहित्यको अनुरागले ओतप्रोत दिपक थापाका गजलहरुमा नेपाली चेलीको व्यथा बोल्छ, नेपाली नारीको चरित्र बोल्छ । नेपाली परिवेसको प्रेम र वियोगको वृतान्त बोल्छ । नेपाली चेलीको विग्रींदो चालचलन र फेशनको कारणले नेपाली चेलीको आर्दशता भंग नहोस् भन्ने कामना गरेको उनको गजलको मताला र शेरः
नाइटो छेडी ट्याटु हानी डिस्को नधाऊन हाम्रा चेली
मध्यरात नशामा ढुबी हल्ली घर नआऊन हाम्रा चेली
हिरोइन, कोकिन, गाँजा संग योवन साटी खाँदा खाँदै
पशुले झैँ अन्जन बाऊका सन्तान नपाऊन हाम्रा चेली
उनको यही सोच र आर्दश वानीको कारणले आज अमेरिकाको रमझममा पनि दिनुहुँ गजल लेख्छन् र मेरो फेसबुकको साहित्यीक समूह "आत्मबिलाप" मा एकदिन पनि नबिराई रचना पोष्ट गर्छन् । कुनै दिन समय नपाएको दिनमा पनि यस्तो लेख्छन्ः
आज अति ब्यस्त भए केहि लेख्नै पाइन
आतिएको मेरो मनलाई झनै छेक्नै पाइन
कपी पेस्ट गर्ने भए आज सबले थाहा पाऊथे
दिनभर मेरो डाइरि र कलम देख्नै पाइन
सन १९८५ अगस्त १३ तारिखमा माता राधिका थापा र पिता चन्द्र बहादुर थापाको प्रतिभावान सन्तानको रुपमा भूटानको न्याउलीमा जन्मिएका श्रष्टा दिपक, उनि बाल्यावस्थामा सन् १९९० मा नेपाल प्रवेश गरेका रहेछन् । लगभग सिंगो बाल्यकाल र स्कुले जीवन पूर्वी नेपालको झापा स्थित भूटानी सिविरमा बिताएका उनको विगत निश्चय पनि दुःखद र अभावमय थियो नै । यद्यपी एउटा होनहार बालकको स्कूल पढ्दाको उनको स्मरण र साहिल्य लेखनको अभिरुची उनले लेखेको फेसबुकको कुनै पर्दामा मैले यस्तो भेटेको थिएँ ।
"हिजो जस्तो लाग्छ शुन्यबाट सुरु भएको मेरो जीवन अनि साथमा साहित्यिक यात्रा । कक्षा दुई वा तिनको नेपाली पाठ अन्तर्गत महाकबि लक्ष्मी प्रशाद देवकोटाले लेख्नु भएको कृति मुना मदन पढ्दा आँखै रसाउँथे र लाग्थ्यो कसरी उत्पति भए होलान् ती काल्पनिक पत्रहरु र हजारौं मन छुने बेदनाहरु । आज पनि सोहि प्रश्नले मेरो खुल्दुलीको ढोका ढकढक्याइ रहन्छ । साहित्यिक दुनियामा प्रलय ल्याउने ठुला साहित्यकार अनि स्रस्टाहरु सम्झन्छु र कहिले कही लाग्छ, मैले आज सम्झिनै पर्छ मेरा त्यी दिनहरु जुन बेला मैले मेरो सकिन आँटेको कपीको पृष्ट माथि ठुलो आन्याय गरेको थिएँ । खोइ कहाँ बाट मलाई त्यो दिन कविता लेख्ने सोच आएथ्यो ।लेखें, लेख्दै गएँ, सिकें र सिक्दै छु आज पनि । विशेष रुपमा सबिन धिमाल, क्षितिज तिम्सिना र पूर्ण बन्धन दाईहरुलाई मेरो हृदय देखि धन्यवाद अर्पण गर्दछु । वहाँहरुको मार्गदर्शनबाटै भर्खर म बामे सर्ने अवस्थामा छु, यो साहित्यिक यात्रामा । हाँसो उठ्छ, मेरा साथीभाईसंग कहिले फुलबारीको त कहिले सपनाको बारेमा कविता लेखौ भनि एकएक कपी र कलम चापी घरको एकएक कोठामा पसेको, अनि ए सकिस ? भनेको सम्झेर । खै उसले के लेख्यो अत्तोपत्तो नै रहेन अहिले । मलाई सिकाईदेन यारू छेउको साथीले सहयोग माग्दा म उसलाई भन्थे ओए नो चिट्टिंग । अनि आफै एक्लै हाँस्दै सोच्थे, जहाँ इच्छा त्याहा उपाय र त म जे लेख्छु आफै लेख्छु, जानी नजानी । ऊ के गर्दैछ, खाली एउटै प्रश्न बारम्बार ? किन देख्दिन म उसका रचनाहरु आजभोलि ? हाम्ले साटीसाटी लेख्ने कलम एउटै थियो तर भावना फरक थियो ।कल्पनामा सपनाको कविता लेख्दालेख्दै मेरो डाईरीका सयौं कविता, गजलहरु उकुसमुकुस भएर बसेको भान भयो मलाई । अनि आफ्नै मातापिताबाट आफ्नै सन्तानको हत्या गरेको जस्तो आभास पनि हुन्छ कहिले कहीं । अनि त यो २१ सौ सताब्दीसंग हातेमालो गरि तपाईहरु माझ आउने कोसिस गरि रहेकोछु । सिकारु छु, भुलहरू हुन्छन्, आखिर हिड्ने मान्छेलाई नै ठेस लाग्छ त्यसैले मेरा भुलहरुका लागि क्षमायाचना गर्दै होस्टेमा हैंसेको अपेक्षा समेत राख्दछु ।" यो उनको सुन्दर मनको सफा विचार हो, जुन उनको विनम्र स्वभावको चित्रण गर्दछ ।
जुन दिन मैले उनको यो नोट पाएँ, अनि मलाई लाग्यो यो विनम्र स्वभावको गजलकार, रमाइलोको लागि वा मन हलुका बनाउनका लागि भावना लेख्ने गजलकार मात्र होइन । यो त वास्तवमा नेपाली साहित्यमा गहिरो अभिरुचीका साथ बाल्यकाल देखि नै इमान्दार भएर लागेको साहित्यको पुजारी रहेछ । त्यस दिन देखि मैले,म जति नै व्यस्त भए पनि "आत्मबिलाप" मा आएका उनका हरेक रचनामा क्रियाप्रतिक्रिया दिने गरेको छु । कारण के थियो भने, दिपक जस्तो नेपाली साहित्यमा समर्पित व्यक्तिले म भूटानी, हाल अमेरिकामा बस्छु, त्यसैले पूर्ण दाइले वास्ता गरेन, पक्षपाती हुनभयो भन्ने सोचेर फेरी पोष्ट गर्न छोड्यो भने त मैले त्यस्तो श्रजकका रचना खोज्न समय लाग्ने छ भन्ने डर लाग्दथ्यो । किन कि उनका गजलमा प्रायः प्रेम र वियोगको चित्रण हुन्छ, जुन निकै मन पर्ने विषय हो, मेरा लागि, जस्तैः
मेरो प्रेमको मुहान हजुर सुकेरै गयो
विश्वासको त्यो गाँठो फुकेरै गयो
कथा जस्तै भए हाम्रा मिलनका दिनहरु
संगै मर्ने जिउने बाचा चुकेरै गयो
उनका गजलमा प्रेमको उद्घोष गरिएका यी केही पंक्तिहरुः
चनचले स्वभाभ उनको अझै हेर्न मन लग्यो
फेरी पनि अंगालोमा उनलाई बेर्न मन लग्यो
ब्याङ्गे बोलि मिठो हसाइ आँखैमा अल्जी राछ
अतीथ भुली उनि संग साइनो फेर्न मन लग्यो
व्याकरणका हिसाबले केही शुद्धाशुद्धि नमिलेका उनको लेखाईलाई त्यती अशुद्ध पनि भन्न मिल्दैन । सामान्यतया केही त्रुटीहरु सबै साहित्यकारका रचनामा देखिन्छन् । किन कि साहित्यकार व्याकरणशास्त्री हुनै पर्छ भन्ने पनि केही छैन । गजलको नियम र आर्दशका हिसाबले पनि उनका गजल कुन कोटी वा कुन छन्दका हुन्, त्यो त मलाई पनि त्यती आउँदैन । किन कि म पनि दिपकको जस्तै मात्रा गिरावटको हिसाबले गजल लेख्छु अनि भाव र लयलाई बढी ध्यान दिन्छु । उनले भने अनुसार उनी मेरा गजलबाट प्रभावित हुनका अतिरिक्त सबिन धिमाल र क्षितिज तिम्सिनाबाट पनि निकै प्रभावित छन् रे । उनको गजल यात्रा सवल र सार्थक त छ नै भविष्यमा उनको जल्दोबल्दो गहकिलो नेपाली साहित्यिक योग्यताको नेपाली साहित्यले थप योगदान पाउने छ भन्ने अमिलाशा व्यक्त गर्दै निरन्तर सफल यात्राको कामना गर्दछु ।

Copyright © 2011-2015 दिपक थापा लेखकमा आधारित .

मेरो शब्द रहेको गित

Facebook Badge

  ©मेरो सिर्जना - Todos os direitos reservados.

Template by Dicas Blogger | Topo